रोगको कारणः आर. एन. ए. समुह (RNA Group) को रेबडोभाइरिडी अन्तर्गत पर्ने “लिसा भाइरस” बाट रेबिज रोग लाग्दछ। यो भाइरस बुलेट आकारको करिब १८०—२५० mm लम्बाई ७५ mm व्यास भएको हुन्छ। भाइरस शरिर भित्र प्रवेश गरेपछि Axoplasam हुदै मेरुदण्ड तर्फ ३ मि.मी / घन्टाको दरले यात्रा गर्दै मष्तिस्कमा पुग्दछ। मष्तिस्कमा पुगेको भाइरस केंद्रीकृत रुपमा शरीरको बिभीन्न अंगहरुमा पुग्दछ । र्याल ग्रन्थीमा भाइरसको गुणात्मक बृद्घी हुन्छ र र्यालमा मिसीएर बाहिर आँउदछ। यो भाइरस ताप, इथर, फर्मालिन, फिनेल, अल्काली र पोटासियम र परमेग्नेटमा अत्यन्तै संवेदनशिल हुन्छ। बहुला कुकुरले खसाएको र्याल भूइमा खसेर सुक्ने वित्तिकै भाइरस पनि मरी सक्छ।
रोग सर्ने तरिकाः प्राकृतिक रुपमा यो रोग मुख्यत बहुला कुकुरको टोकइबाट नै लाग्दछ। त्यस बाहेक केहि मात्रामा जंगली जनावर टोकाई, मुसा, न्याउरी मुसा, चमेरा आदिको टोकाईबाट समेत यो रोग सर्न सक्दछ।
लक्षण (Symptoms): भाइरस शरिर भित्र प्रवेश गरेपछि पहिलो लक्षण देखाउने अवधि सरदर २० देखि ६० दिनको हुन्छ तर यो अवधि कुनै कुनै बेला ६ महिना भन्दा बढिको हुन्छ। कुकुरले वा अन्य बहुला जनावरले टोकेको ठाउँ र घाउको प्रकृति अनुसार यो समयावधी फरक हुने गर्दछ। त्यस्तै केन्द्रिय स्नायु प्रणाली भन्दा कतिटाढा घाउ बनाएको छ त्यसको आधारमा पनि समय घटी वा बढि हुन्छ। मस्तिष्कबाट टोकाई जति नजिक भयो त्यति नै छिटो लक्षण देखा पर्दछ।
१) क्रुद्ध रुप (Furious Form) यसको रुपको लक्षण देखाउने कुकुर ज्यादै उत्तेजित हुने, आफ्नो मालिकले भनेको नमान्ने, झस्किने, तर्सिने आफूलाई थुनेको खोर भएमा त्यहाँ भएको आहारा खाने भाडा, तार, भित्ता जे पायो त्यहि टोक्ने र बाहिर उम्कन पाएमा एकोहोरो दौडिरहने र बाटोमा भेटीएका मानिस गाई वस्तु अन्य जनावरहरु र निर्जिव वस्तुहरुलाई समेत टोक्दै हिड्छ। जथाभावि टोक्नाले मुखमा घाउ भई रगत निस्कने र्याल बगाई राखेको हुन्छ। कुकुरको आँखा रातो हुन्छ भुक्दा स्वर सुकेको आवाज आउँछ। रोग बढ्दै गएपछि कुकुर लडखडाउने, खाने कुरा नखाने तर नखाने कुरा खान खोज्ने गर्दछ। कुनै कुनै कुकुरले भाले खोजेको लक्षण पनि देखाउँछ। कुकुरले आफ्नै पिसाब आफै चाट्छ र भाले लाग्न दिन्छ । घाँटीको पक्षघात हुनाले र्याल चुहाउने, तल्लो बंगारा खस्ने जिब्रो निकाल्ने गर्दछ। यस्को साथै बिस्तारै सास फेर्न गाह्रो हुने केहि निल्न नसक्ने, अचेत हुने र अन्त्यमा मृत्यु हुन्छ। यो सम्पुर्ण लक्षण अवधि सरदर ७ देखि १० दिनको हुन्छ।
२) लाटो रुप (Dumb Form): यसलाई पक्षघातको रुप भनिन्छ। यसमा तल्लो बंगारा, जिब्रो, ल्यारिङस र पछिल्लो खुट्टामा पक्षघात हुन्छ। कुकुरले अरुलाई टोक्न सक्दैन तर र्याल चुहाई राख्दछ। यस्तो लक्षण देखाउने जनावरको मुखमा केहि अड्किए जस्तो लाग्ने हुनाले जनावर मुखभित्र हात राखी निरिक्षण गर्दा धेरै पटक मानिसलाई रोग सर्ने सम्भावना हुन्छ।
माथिका दुवै प्रकारको रेविजका लक्षण देखिएको ७ देखि १० दिन भित्रमा कुकुर मर्दछ। यदि १० देखि १४ दिन भित्रमा पनि कुकुर नमरेको खण्डमा उक्त रोग रेविज नभएको भन्न सकिन्छ।
कुकुर
बाहेक अन्य जनावरहरु जस्तै गाई, भैसी, बाख्रामा रेबिज भएमा
जनावर उत्तेजित हुने, बेचैन हुने आफ्नै मालिकलाई हान्ने, असामान्य
आवाज निकालेर कराउने, आफूले आफेलाई टोक्ने, हिड्दा
लडखडाउने, र्याल काड्ने, घाँटीमा केही अड्किए
जस्तो गर्ने अनौठो रुपले एकोहोरो हेर्ने, घाासपानी खान छोड्ने, जे
पायो त्यहि खाने नहुने वस्तु टोक्ने जस्ता लक्षणहरु देखिन्छन्। जनावरमा विस्तारै
पक्षघातका लक्षण बढ्दै जान्छ र अन्त्यमा पशु मर्दछ। रेविज रोगको शंका लागेमा
पशुलाई बलियो दाम्लोले बाँधेर राख्ने वा खोरमा थुनेर कम्तिमा १० दिनसम्म हेर्नु
पर्दछ। अक्सर रेविज भएमा सो समयवाधीमा पशु मर्दछ।
मानिसहरूमा रेविज रोगको लक्षणः भाइरस शरिर भित्र प्रवेश गरेपछि पहिलो लक्षण देखाउने अवधि सरदर २० देखि ६० दिनको हुन्छ तर कम्तिमा १० दिन वा बर्षौ पछि पनि देखा पर्न सक्छ। प्राय मानिसमा टोकेको ठाउमा दुख्ने, झम्झमाउने, एक्कासी चिलाउने जस्ता पहिलो लक्षण देखिन सक्छ। त्यसपछि ज्वरो आउनु, जाडो लाग्नु, थकित हुनु शारिरका मांसपेशी दुख्नु र झर्कने जस्ता लक्षण विरामीमा देखिन सक्छ। विरामी विना कारण काम्ने, बेसुर हुने लक्षण देखिन सक्छ। रेविजको पुर्ण तथा अन्तिम अवस्थामा भने स्वास फेर्न तथा खानेकूरा निल्न नसक्ने, मांशपशीहरुमा अनियमति रुपमा खुम्चने र कम्पन हुने हुन्छ। त्यस्ता विरामीका नजिक पानी राख्दा डराउने र हावा सुघाउदा पनि डाराउने गर्दछ। त्यो अवस्थालाई एरोफोविया भनिन्छ। यो अवस्थामा पुगेको विरामीहरूको जीवन प्राय समाप्त हुन्छ।
रोगको निदानः रोग इतिहास विवरण लिंदा बहुला कुकुरले टोकेको रेकर्ड पाइएमा रोगको लक्षण, शव परिक्षण र प्रयोगशाला परीक्षणबाट रोगको निदान गर्न सकिन्छ। रेविज शंकालागेको पशुको शव परिक्षण गर्दा हातमा पंजा, आँखामा गगल्स, मुखनाकमा मास्क साथै सुरक्षित एप्रोन लगाएर बडो होशियारी पूर्वक सम्पन्न गर्नु पर्दछ । रेविज रोग लागेको पशुको काठको टुक्रा, रौं, पकडा, रवर जस्ता खान नहुने वस्तुहरु भेटिनुको साथै पेट र आन्द्राको म्यूकोसा सुन्निएको हुन्छ । प्रयोगशालामा परिक्षणको लागी मष्तिस्कको नमुना पठाउनु पर्दछ। यसको लागि माथि शव परीक्षणमा झै सावधानी अपनाएर खप्परलाई लम्बाई तर्फबाट विचबाट ठिक दुई भाग हुने गरी करौंतीको सहायताले फोर्नु पर्दछ। त्यसपछि १ भाग पट्टीको मस्तिष्कलाई ५०% ग्लिसिरिन सलाइनमा र अर्को भाग १०% फर्मालिनमा राखेर सम्पूर्ण इतिहास विवरण, लक्षण र शब परिक्षणको प्रतिवेदन सहित प्रयोगशालामा पठाउनु पर्दछ। यदि रेविज पोजेटिभ भएमा मष्तिस्क कोषहरुमा नेग्रीवडीहरु (Negri bodies) माइक्रोस्कोपको सहायताबाट देख्न सकिन्छ। यस बाहेक रोगीको मस्तिष्कको फोल (Brain Extract) लाई प्रयोगशालाका पशुलाई सुइ दिएर पनि रोगको निदान गर्न सकिन्छ।
रोगको उपचार, रोकथाम र नियन्त्रणः लक्षण देखाई सकेपछि हालसम्म कुने पनि औषधीउपचार गरी रेविजबाट मानिस वा पशु बच्न सकेको छैनन् तर यो रोग लाग्न नदिनको लागि धेरै प्रभावकारी भ्याक्सिनहरु पाइन्छन्। रेविज रोग मुख्य रुपमा कुकुरको टोकाईबाट सर्ने भएकोले कुकुरमा यो रोग नियन्त्रण गरेको खण्ड अन्य जनावर र मानिसमा पनि यो रोग लाग्नबाट बचाउन सकिन्छ।
सबै घरपालुवा कुकुरलाई स्थानिय निकायमा रजिष्ट्रेशन गर्ने र कुकुरहरुलाई नियमित र अनिवार्य रुपमा रेविज भ्याक्सिन लगाउनु पर्दछ। छाडा तथा भुस्याहा कुकुरहरुलाई सम्पूर्ण रुपमा मार्नु पर्दछ र बाहिरबाट देशमा भित्राइने सबै कुकुरलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखी रेविज मुक्त भएमा मात्र भित्राउन दिनु पर्दछ । रेबिज रोग के हो ? यसबाट बच्न के गर्नु पर्दछ ? भन्नेबारे जनस्तरमा चेतना जगाउने खालको कार्यक्रम दिनु पर्दछ। रेविज शंका लागेको कुकुर र जनावरलाई मारी हाल्नु हुदैन बरु केहि दिन थुनेर रेविज हो होइन यकिन गर्नु पर्दछ। कुनै क्षेत्रमा रेविज फैलिएको थाहा पाउनासाथ तुरुन्त प्राविधिक टोली गएर त्यसको रोकथाम गर्नुपर्दछ। कुकुरले खाने कुरा खाई राखेको बेला, सुति राखेको बेला, आफ्ना बच्चाहरुको हेरचाह गरिराखेको बेला चलाउनु हुदैन र कुकूरको आँखामा सोझै हेर्ने, कुकूर माथि कुनै वस्तु फाल्ने, कुकूरको नजिकबाट दौडने यस्ता बानी कहिलै गर्नु हुदैन । रेविज रोग लागेको कुकुर वा अन्य जनावरले टोकेको खण्डमा टोकेको ठाँउमा साबुन र प्रसस्त पानीले वा पोटास पानीले सफा गरि भरपर्दो एन्टिसेप्टीक लगाएर तुरुन्त डाक्टरको सल्लाह अनुसार पोष्ट बाइट भ्याक्सिन लगाउन अस्पताल गई हाल्नु पर्दछ।
लेखनः डा. खगेन्द्रराज सापकोटा
0 Comments:
Thank You for Your Feedback: INFO DESK