हाइड्रोपोनिक्स प्रविधि (Hydroponics Techniques) माटो बिना नै पानीमा पोषण तत्व (पानी युक्त खाद) हरूको सहायताले कृत्रिम माध्यम (बालुवा, रोडा, नरिवल जटा आदी) को प्रयोग वा बिना प्रयोग बिरुवाहरू उत्पादन गर्ने एक विधि हो। वास्तवमा हाइड्रोपोनिक्स विधिलाइ खनिज तथा पोषक तत्वहरूको घोलमा बाली हुर्काउने तरीकाको रूपमा परिभाषित गरिन्छ । अर्थात् यो soilless culture हो। यसलाइ जमरे खेती पनि भन्ने गरिन्छ। यसमा पानी र पोषण बिरूवाको मूल जरामा हुनु अति आवश्यक हुन्छ। विश्वमा यस पद्दतिको नामांकरण सहित विकास सन् १९३७ बाट मात्र शुरू भएको मानिन्छ।
नेपालमा यसको आवश्यकता किन?
नेपालमा यो प्रणाली खास गरी तरकारी र फूलहरूमा मात्र प्रयोग भएको पाइन्छ . नेपाली व्यवसायिक पशुपालक कृषकहरूले भोगेको प्रमुख समस्या
भनेको हरियो घाँसको उपलब्धता नहुनु नै हो भने धेरै जसो पशुपालन गरिरहेका साना
कृषकहरू सँग घाँस उत्पादनको लागी प्रसस्त जग्गाको
कमि छ। मुख्यतः नेपाली पशुपालन क्षेत्रले चरन तथा घाँस उत्पादन गर्ने जमिनको समस्या
झेलिरहेको बेला यो प्रभावकारी प्रविधि हुन सक्दछ । त्यसैले डेरी ब्यावसायलाइ
प्रभावकारी, दीगो र बारै महिना हरियो घाँसको उपलब्धता बढाउन नेपालमा पनि पशु सेवा
विभागले शुरूवात गर्न लागेको यो हाइड्रोपोनिक्स प्रविधि पशुपालन क्षेत्रमा एक
विकल्पको रूपमा स्थापित हुन सक्दछ।
हाइड्रोपोनिक्स प्रविधि फाइदा तथा बेफाइदाहरू के के छन्?
सबै किसिमका बिरूवाहरू यो विधिबाट उत्पादन गर्न सकिदैन तर बाह्रै महिना बाली बिरुवाको खेती गर्न भने सकिन्छ । यसमा बिरुवाहरूलाई
नियन्त्रित वातावरणमा हुर्काइने हुँदा परंपरागत जलवायुमा राम्रो संग बिकास नहुने बिरुवाहरु
पनि यस विधिबाट हुर्काइन सम्भव छ। रोगव्याधी कम लाग्ने, थोरै समयमा धेरै
उत्पादन लिन सकिने, थोरै ठाउँमा र शहरी क्षेत्रका पनि गर्न सकिने यसका मुख्य मुख्य
फाइदाहरू हुन्। हरियो जमरे घाँसको नियमित प्रयोगबाट गाइ भैंसीहरूको पाचन प्रणाली स्वस्थ तथा अधिकतम उपयोग हुन्छ। साधारण
घाँस खेती गर्न आवश्यक भूमिको पाँच भागको एक भागमा बाह्रै महिना उच्च पोषणयुक्त सफा
र ताजा आहारा उत्पादन हुन्छ । एक किलो जमरे
घाँसले तीन किलो सन्तुलित दाना बराबर पोषकतत्व प्रदान गर्छ। यो घाँस खुवाउनाले पशुहरूको रक्त सञ्चार प्रणालीमा रातो रक्त कोशिका र
अक्सिजनको मात्रा बढाउँछ । साथै यस प्रविधिमा ठाउँ र ऊर्जाको बचत हुन्छ। यसमा फोलिक
एसिड, ओमेगा-3, फैटी एसिड, anti-oxidant, anti-ulcer
र anti-inflammatory गुण समावेश हुन्छ। यसरी तयार गरिएको हरियो घाँसमा उच्च गुणयुक्त प्रोटीन, इन्जाइम र भिटामिनहरू रहेको हुनाले यसको नियमित सेवनबाट
प्रति बेत १० देखि १५ प्रतिशत सम्म दूध उत्पादनमा वृद्धि हुन्छ भने प्रजनन विकृति,
भ्रूण मृत्यु दर र गर्भपतनमा समेत कमि ल्याउँछ। मकैबाट उत्पादित जमरे घाँस दैनिक १० किलो प्रति गाईको दरले खुवाउँदा प्रति
गाई १ किलो दानाका कमि हुने र दैनिक १ लीटर प्रति गाई दूध वृद्धि हुने विभिन्न
अनुशन्धान तथा यो प्रविधि प्रयोग गरिरहेका कृषकहरूले नै बताउँदछन्। त्यस्तै दैनिक
१ देखि २ किलो जमरे घाँसले हेफरहरूमा शारीरिक वृद्धि राम्रो संग हुने र प्रजनन संग
सम्वन्धित रोग तथा विकृतिहरूमा पनि कमि हुन्छ।
यो प्रविधिले मानिसको खाद्य वस्तुसँग प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्दछ। यस
प्रविधिमा हरियो घाँस खेतीको लागि प्रयोग हुने जौ,
गहुँ, मकै, जै, जुनेलो, बरसिम, बोडी मानिसको आहारासँग प्रत्यक्ष सरोकार राख्ने हुनाले
खाद्य संकटको जोखिम हुन पनि सक्छ। साधारण किसिमबाट घाँस खेती गर्दा भन्दा यसमा
निकै नै कम बायोमास प्राप्त हुने हुनाले बिउको आवश्यकता बढ्दछ । हाइड्रोपोनिक्स प्रविधिबाट तयार
गरिएको घाँसमा सुखापदार्थको मात्रा केवल १२–१५ प्रतिशतमात्र हुने हुदाँ यसले मात्र
धेरै दूध दिने पशुहरूको शारीरिक आवश्यकता पूर्ति गर्न सक्दैन।
हाइड्रोपोनिक्स खेती कसरी गर्ने ?
हाइड्रोपोनिक्स प्रविधिमा जौ, गहुँ, मकै, जै, जुनेलो, बरसिम, बोडी वा तिनीहरूको मिश्रणको खेती घाँस उत्पादनका लागि प्रयोग
गरिन्छ । यसमा मुख्य रूपमा सोलुसन कल्चर (solution culture) र मेडियम कल्चर (medium culture) गरी दुई प्रकारका
घोलहरूको प्रयोग गरिन्छ । सोलुसन कल्चरमा बिरूवा विकासको लागी ठोस मध्यमको प्रयोग
हुदैन, पोषक तत्वहरूको घोल मात्र प्रयोग हुन्छ। सोलुसन कल्चरका पनि स्थिर सोलुसन
कल्चर, लगातार-फ्लो
सोलुसन कल्चर र aeroponics सोलुसन कल्चर गरी तीन मुख्य
प्रकार वर्गीकृत गरिएको हुन्छ । मेडियम कल्चर विधिमा बिरूवा विकासको लागि जरामा ठोस
मध्यम (बालुवा, रोडा वा काठ) को प्रयोग हन्छ । जुनसुकै माध्यमबाट कल्चर गरेपनि बिरुवा
हुर्कने अवधिभरी ड्रिप वा स्प्रे सिँचाइ प्रणाली अन्तरगत पानी छम्केर चिसो राख्नु
पर्दछ। बिरूवालाइ छोटो समयमा राम्रोसँग हुर्कन बेलाबेलामा पानीसँगै पोषक तत्वको
घोल पनि छर्कनु आवश्यक हुन्छ। Liquid hydroponic systems (तरल हाइड्रोपोनिक्स प्रणाली) मा
संयंत्र जराका लागि अन्य कुनै समर्थन मध्यमको आवश्यक पर्दैन भने aggregate systems (कुल प्रणाली) मा अरू
ठोस मध्यम समर्थनको रूपमा आवश्यक पर्दछ।
बीउ वा तिनीहरूको मिश्रणलाइ प्लास्टिक, आल्मुनियम वा अन्य धातुको ट्रेमा
पानीमा भिजाइ राखेको बीउ एकनासले छरि उमारेर कलिलो जरासहितको बिरुवा गाईभैंसी वा
अन्य जनावरलाई खुवाइन्छ। एकपटक मोक्राएको बीउ एक दिन भित्रमा नै अँकुराउन थाल्दछ र
५ देखि ७ दिनको अवधिमा करिब २५–३० सेन्टिमिटर अग्लो खान योग्य जमरे घाँस तयार हुन्छ।
जमरे घाँसका बिरुवाका जराहरू एक अर्कामा गुज्मिुजिएर फम जस्तो बन्दछ जसलाइ
गुन्द्रीजस्तै दोब्राएर गाइभैंसीलाइ खुवाउन प्रयोग गरिन्छ। यस्तो जमरे घाँस प्रति
दुधालु गाई वा भैंसीलाई दिनको दस किलोको दरले खुआउन सकिन्छ। यो सबै किसिमको
चौपायाहरू तथा कुखुराको लागि पनि उपयुक्त मानिन्छ । यसमा बिरुवा, जरा र बीउ कुनै
पनि भाग खेर नफाली खुवाइन्छ। हाइड्रोपोनिक्सका लागि १०० वर्गमिटरमा १००० ट्रे हुने
गरी ग्रीन हाउस बनाउँदा प्रति ट्रे १ किलोको दरले दिनमा १००० किलो जमरे घाँस
उत्पादन गर्न सकिने विभिन्न अनुषन्धानहरूले देखाएका छन।
यसमा कठिनाइ र दीगोपना के छन?
हाइड्रोपोनिक्सको तरीकाबाट हरियो घाँस उत्पादन गर्न कुनै पनि बन्द कोठा वा
गोदाम घरमा गर्न सकिए तापनि तापक्रम तथा आद्रता नियन्त्रण गर्नु पर्ने भएकाले कृषि
तथा यस प्रविधिमामा कौशल कर्मचारीहरु आवश्यक हुन्छ। विशेष प्रविधिले बनाइएको शिशा
निर्मित्त ग्रिनहाउमा संगको संयोजनमा
गर्नु पर्ने हुनाले शिप, ज्ञान, कौशलता र
धैर्यताको पनि उत्तिकै जरूरी छ। ग्रीनहाउस संरचनामा र यसको वातावरणमा विशेष ध्यान
नदिएमा कुनै पनि सिस्टमबाट आर्थिक फाइदा लिन कठीन हुन्छ। बिउको लागी
मानिसको आहारासँग प्रतिस्पर्दा, कृषकहरूको रूचि, कृषकहरूलाइ हुने आर्थिक फाइदा,
आदि यसको निरन्तरता र दीगोपन संग जोडिएका विषयहरू हुन। यो प्रविधि अलि जटिल भएपनि
यसको विकास र प्रचारको लागी विभिन्न दुग्घ उत्पादक सहकारी संस्था मार्फत् मोडेलको
रूपमा स्थापना तथा अभ्यास गरी अरू कृषकहरूलाइ पनि अनुशरण गराउन सकिन्छ भने प्रगतिशील
आधुनिक डेरी कृषकहरू सँग नै यो प्रविधिको सफलता गाँसिएको छ।
0 Comments:
Thank You for Your Feedback: INFO DESK