भेडामा कृत्रिम गर्भाधान र यसको निरन्तरता

भालेबाट कृत्रिम तरीकाले संकलन गरी प्रशोधन र संरक्षण गरिएको वीर्यलाई कृत्रिम उपकरणहरुको सहायताले पोथीको प्रजनन् अंगमा पु~याई गर्भाधान गराउने तरीकालाई कृत्रिम गर्भाधान भनिन्छ ।
भेडामा कृत्रिम गर्भाधानको व्यावहारिक प्रयोग सन् १९३८ मा तत्कालिन सोभियतसंघ बाट भएको पाईन्छ ।त्यसको अनुशरण फ्रान्स र ब्राजिलले सन् १९४५ तिर गरे । हाल व्यवसायिक भेडा पालन गर्ने सबै प्रमुख देशहरुले भेडामा कृत्रिम गर्भाधान कार्य गरिरहेका छन् । नेपालमा पनि पशुको नश्ल सुधार गर्ने कृत्रिम गर्भाधान प्रविधि गाई भैसीका पाँच दशक भन्दा पहिले देखि नै शुरुवात भएपनि भेडामा भने २०७० सालमा राष्ट्रिय पशु प्रजनन केन्द्र, पोखराको आयोजनामा न्युजिल्याण्डबाट ल्याईएको कुपवर्थ तथा रोम्नी मार्स जातका थुमा (भेंडो) को वीर्यबाट नेपाली कागे तथा बरुवाल भेडामा प्रजनन गराई पशु विकास फार्म पोखरा र भेडा विकास फार्म पाचसयखोलामा प्रथम पटक पाठेघरको सिंगमा वीर्य जम्मा गर्ने प्रविधि (Laparoscopic AI)  मार्फत् १२ बटा भेडीहरुबाट सफल शुरुवात भएको थियो । जसको गर्भाधारण दर ५० प्रतिशत मात्रै भएपनि हाल कृत्रिम गर्भाधान गरी जन्मेका भेडाहरू र यिनीहरूबाट जन्मने बर्णशंकरहरू ऊन उत्पादनको लागी लोकपृय हुदै गएका छन् । कार्पेट ऊन उत्पादनको लागि भेंडाको संख्या बढाउने उद्देश्यका साथ यो अभियान शुरू गरिएको थियो ।  हालै केन्दिय भेडा बाख्रा प्रवर्धन कार्यालय, हरिहरभवनबाट पनि भेडा बाख्रा अनुशन्धान कार्यक्रम गुठीचौर जुम्ला र यस अन्तर्गतका समुदायहरूमा पाठेघरको ग्रीवामा वीर्य जम्मा गर्ने प्रविधि (Cervical AI) मार्फत् ४८ बटा भेडीहरुमा कृत्रिम गर्भाधान भएको छ । नेपालमा सरकारी स्तर बाट बोकाको जमेको वीर्य उत्पादन गरी बाख्रामा कृत्रिम गर्भाधान कार्यको पनि शुरूवात भएको छ तर हालसम्म भेडाको वीर्य उत्पादन कार्यक्रम सञ्चालन भने भएको छैन । नेपालमा ऊन उत्पादनलाइ बडावा दिन अपरिहार्य र चुनौति पनि छ । यो आवश्यकता र चुनौतिको सामना गर्न, कार्पेट उद्योगलाइ टेवा पुर्याउन ऊन उत्पादनमा प्रचलित जातका भेडाहरूको वीर्य आयात गरेर भएपनि यो कृत्रिम गर्भाधान कार्यको सफल सुरूवातलाइ निरन्तरता दिनु आवश्यक देखिन्छ ।

भेडामा कृत्रिम गर्भाधानका सामान्य सिद्धान्तहरुः
भेडा तथा बाख्रामा जमेको वीर्यको प्रयोग कम छ र कृत्रिम गर्भाधान गाई भैसीको जस्तो लोकप्रिय भने छैन । कृत्रिम गर्भाधान बढी सफल पार्न १५ महिना भन्दा बढी उमेरको वा बयश्क तौलको ७० प्रतिशत तौल पुगेको भेडीहरुमा कृत्रिम गर्भाधान गरिनु पर्छ । सामान्यतया २.५ देखि ४.५ बर्ष उमेर समूहमा बढी सफलता पाइन्छ । भेडामा ऋतुकाल सरदर ३० घन्टासम्म (१८ देखि ४८ घन्टा) रहन्छ, डिम्बोत्कर्स ऋतुकालको बीचदेखि अन्त्यतिर हुन्छ भने कृत्रिम गर्भाधान बिहानमा गर्दा राम्रो हुन्छ । कृत्रिम गर्भाधान ऋतुकालमा आएको  थाह पाउने बित्तिकै गरिन्छ । तर ८ खेखि १० घन्टाको फरकमा दुइपटक कृत्रिम गर्भाधान गर्दा सफलता बढी हुन्छ ।

कृत्रिम गर्भाधान गर्ने तरिकाहरुः भेडामा कृत्रिम गर्भाधान गर्ने चारवटा तरिकाहरु प्रचलनमा छन् । नयाँ र बढी सफल तरिकाको खोजी अझै भइरहेको छ । हालका सबै तरिकाहरु सरल छैनन् । वीर्य संकलन, प्रशोधन र कृत्रिम गर्भाधान गर्ने तरिकाहरुको अझ धेरै अध्ययन हुन बाँकी छ ।

१. योनीमा वीर्य जम्मा गर्ने विधि (Vaginal AI) यो विधिमा योनीको सकेसम्म भित्री भागमा वीर्य जम्मा गर्नु पर्छ । ताजा वीर्य प्रयोग हुने भए मात्र यो विधि उपयोगी मानिन्छ । यसमा प्रति मात्रा वीर्यमा बढी शुक्रकीट (१.५ करोड देखि ४ करोडसम्म) चाहिने हुन्छ भने गर्भरहने दर कम हुन्छ ।

२. ग्रीवामा वीर्य जम्मा गर्ने विधि ( Cervical AI) यो विधिमा ग्रीवाको प्रथम मुजा (First fold) मा वीर्य जम्मा गर्नु पर्दछ । यसका लागी उज्यालोको श्रोत सहितको Speculum चाहिन्छ र प्रयोग हुने प्रति मात्रा वीर्यमा १ करोड शुक्रकीटहरु भए पुग्छ । यो विधिमा ताजा र चिस्याएको वीर्यकोलागि बढी उपयुक्त हुन्छ । जमेको वीर्य प्रयोग गरेमा गर्भरहने दर कम हुन्छ ।

३. ग्रीवा भन्दा भित्र वीर्य जम्मा गर्ने विधि (Trans Cervical AI) यो तरीका अन्य तरीका भन्दा तुलनात्मक रुपमा कठिन छ । वीर्यलाई ग्रीवा नली (Cervical Canal) भित्र भागमा जम्मा गर्नु पर्दछ । यसमा प्रयोग हुने प्रति मात्रा वीर्यमा १० करोड शुक्रकीटहरु भए पुग्छ कृ.ग. गर्ने बेलामा ग्रीवा फोरसेफको मदतले तान्ने र वीर्य जम्मा गर्नु पर्दछ ।

४. पाठेघरको सिंगमा वीर्य जम्मा गर्ने विधि (Laparoscopic AI) यो विधि अस्ट्रेलियाका Killen र Caffery ले १९८२ मा बिकास गरेको जटिल र खर्चिलो तरीका हो । वीर्यलाई सानो शल्यक्रियाको मद्धतले Uterine horn मा जम्मा गरिन्छ (भिडियोमा हेर्न सम्नुहुनेछ)
लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा, लेखन Date: 2015-07-29

1 Comments

  1. Herzlichen Dank für Ihren Besuch bei mir und für die anregende Kritik:
    http://www.dersaisonkoch.com/serendipity/
    Wie ein Essen oder ein Nahrungsmittel aussieht, wissen eigentlich alle meine Leser. Ich plädiere dafür, Jedem seine Entscheidung darüber zu lassen, wie sein Teller/seine Mahlzeit aussieht. Ich orientiere mich an Richard Hering und Karl Duch.
    Thank you very much for visiting me and for the stimulating criticism:
    http://www.dersaisonkoch.com/serendipity/
    All my readers actually know what food or food looks like. I advocate letting everyone make their own decisions about what their plate/meal looks like. I take my bearings from Richard Hering and Karl Duch.

    ReplyDelete

Thank You for Your Feedback: INFO DESK