चौंरीगाइ आलो रगत पिउने चाडः पशु क्रूरताको एक उदाहरण


तिनै पशु अधिकार कर्मीहरू हुन जसले हिजो पशुमा कृत्रिम गर्भाधान विधि (Artificial Insemination Technique) प्रयोग गर्दा पशु अधिकार हनन भयो भनेर पशु कल्याणको कुरा उठाउनेहरू आज किन मौन छन्? साँढें जुदाई को खुलेरै विरोदमा उत्रने पशु अधिकार कर्मीहरू खोइ कता हराए? जहाँ वर्षौंदेखि चलेको परम्परालाई जोगाइराख्ने नाममा चौंरीगाईको आलो रगतमा होली खेलिदैछ । के यो पशुको अधिकार क्षेत्रभित्र पर्दैन? के यो पशुको अधिकार कर्मीहरूको क्षेत्रभित्र पर्दैन? आज बुद्दिजिवी समाजले यि विचारणीय र गहन अनुत्तरित प्रश्नहरूका उत्तरहरू खोजिरहेको छ।




प्रत्येक बर्ष परम्परालाइ जोगाइराख्न भन्दै म्याग्दी र मनाङमा चौंरीगाइको आलो रगत पिउने मेला लाग्दछ जहाँ प्रत्यक्ष जुगुलर भेनबाट रगत निकालि पिउने गरिन्छ। एउटा चौंरीबाट कम्तीमा ४ गिलास देखि १५ गिलास सम्म रगत निकालिन्छ र प्रतिगिलास कम्तिमा रु १५० को दरले बिक्रि गरिन्छ। गाउँलेहरुलाइ जडीबुटी खाएको यो गाइको पाचन प्रकृया राम्रो भएको र रगतमा पनि औषधीय गुण भएको हुन्छ भन्ने विश्वास छ । त्यसैले वर्षको एक वा दुइ पटक लगभग एक सप्ताह लामो रगत खाने शिविरको आयोजना गरिने गरेको छ। एक पटकको मेलामा रगत निकाल्न ब्लेडको गल्ती प्रयोगले एक दुइ गाइको मृत्यु हुने गरेको त्याहाँ जाने मानिसहरू बताउँदछन्। यो क्रूरताको पराकाष्ट नै हो। यो चाड वास्तवमा नेपालको धार्मिक सम्बन्धको एक जटिल छाया हो। 

जिवितै अवस्थामा चक्कुले चौरीको घाँटी रेटेर निकालिएको आलो रगत तत्कालै गिलासमा भरेर पिउनाले मानवका स्वास्थ्यका (Public Health) लागी कति सुरक्षित हुन सक्दछ त्यो आफ्नो ठाँउमा छ तर आलो रगत पिएमा शारीरिक फुर्ती बढ्ने, गानोगोला, ग्यास्ट्रिक, कमलपित्त, मर्केको, सुन्निएको र पेटसम्बन्धी रोग निको हुने अन्धविश्वास पनि कायमै छ, तर मासु विज्ञानमा ताजा रगत खान योग्य बस्तु वा भागको रूपमा परिभाषित गरिएको छैन बरू रगतमा विभिन्न विषाक्त पदार्थका अवशेषहरू रहेका हुन्छन् भनिएको छ । सामान्य शारीरिक प्रक्रिया अनुसार संक्रमण गराउने हानिकारक विषाक्त तत्वहरू रगतको शुद्धीकरण प्रक्रिया पछि मूत्र प्रणाली मार्फत् बाहिर जान्छन् । यसकारण तातो ताजा रगत पिउनाले रगतमा हुने हानिकारक विषाक्त तत्वहरूका कारण मानव स्वास्थ्यमा जोखिम खडा गर्न पनि सक्छन् । यसले पशुबाट मानवमा सङ्क्रामक रोगहरू सर्ने मात्र नभइ वातावरणबाट पशुमा पनि सङ्क्रामक रोग फैलिने संभावना पनि उत्तिकै हुन्छ । यो परम्पराले दुवै मानव स्वास्थ्य Public Health र पशु कल्याण (Animal Welfare) को पक्षलाई समीक्षा गर्नु गर्ने र मानव स्वास्थ्यका रूपमा जुनोटिक रोगहरूलाइ नियन्त्रण गर्न, पशु प्रजातिहरुलाइ यो दर्दनाक अवस्था र एउटा जङ्गली भोजबाट मुक्ति दिलाउने आधार तयार पार्न बाटो दिन शक्नु पर्दछ । यसको सामाजिक, आर्थिक र धार्मिक पक्षलाइ पनि समीक्षा गरिनुगर्ने देखिन्छ ।

यस लेखमा म एक प्रख्यात फोटोग्राफर Jana Asenbrennerova प्रति कृतग्ज्ञ हुदै उहाँले नै खिचेको तेजस्वी फोटोहरू Blood Drinker in Nepal बाट सावार गरी देखाउने प्रयास गरेको छु ।

लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा

0 Comments

Thank You for Your Feedback: INFO DESK